Oct 23, 2010

अविस्मरणीय भोक

असोजको महिना भएपनि मौसमले शरदको रुप लिइसकेको थिएन । मौसम खराव भएकोले कैयौँ दिनदेखि उडान नहुँदा यात्रुहरु रारा(ताल्चा) विमानस्थलमा अलपत्र परेका छन् भन्ने खबरले हाम्रो पनि यात्रामा तगारो हाल्ने हो की भन्ने शंका त मनमा छँदै थियो । तर मौसम हामीसँग दयालु भइदियो । बिहानै देखी मौसममा आएको सुधारले हामीलाइ एकहदसम्म खुसी नै बनायो । बिहानको नित्यकर्म सकेपछि हामी गमगढी छोड्ने तयारी गर्न लाग्यौँ । लामै बिदामा निस्कन लागेको हुनाले सबै कर्मचारी साथीहरुलाइ दशैँको शुभकामना सहित बिदा भयौँ । हवाइ यात्रा बाहेक अर्को विकल्प नभएको त्यो बिकट सदरमुकामबाट बिमानस्थल पुग्न लगभग २ घण्टाको नाकै ठोकिने ठाडो उकालो हिँड्नु पर्थ्यो । हामी दुइ जना थियौँ - डटेन्द्र गोले दाइ र म ।
काँधमा झोला बोकेर दाजुभाइ लाग्यौँ ताल्चा एअरपोर्टको बाटो । बिहानैदेखी खच्चरहरु काममा लागीसकेका रहेछन् । साँघुरो गोरेटोमा खच्चरहरुलाइ बाटो दिँदै हामी अगाडी बढीरह्यौँ । करिब आधा घण्टाको हिँडाइपछि गाउँ छिचोलियो, हामी उकालोको फेदमा आइपुग्यौँ । स्थानीयले काठ घिसार्दा र पहराबाट ढुंगा निकाल्दा बाटाभरी छरिएका धारीला चट्टानहरुको कारणले बाटो हिँड्न सारै अफ्ठ्यारो थियो, त्यसमाथी उकालोको त कुरै नगरौँ ।
१५ मिनेट जति पनि हिँड्दा नहिँड्दै हामी दुबैजना पसिनाले निथ्रुक्क भैसकेका थियौँ । पछाडी बोकेको झोलाको वजन बढ्दै गएजस्तो लाग्न थालीसकेको थियो । हाम्रो थकाइ मार्ने क्रम शुरु हुन लाग्यो । हामी १० मिनेट पनि नहिँडी १५ मिनेट आराम गर्न लाग्यौँ । अझै हिँडाइको दौरानमै अरु १/२ मिनेट उभिएरै आराम गर्थ्यौ । बर्षातको मौसम भएकोले बाटोभरी रंगीचंगी फुलहरु फुलेका थिए, वरपर जंगलमा गाइबाख्रा चराउने गोठालाहरुले देउडा गाइरहेको पनि सुनिएको थियो । तर हामी सास फेर्न पनि संघर्ष गर्नुपर्ने समयमा यताउती कतै ध्यान नदिइ एकनास गह्रौ पाइला चालीरहेका थियौँ ।
“तलतिर जान लायौ” - यौटी अधबैँशे गोठाल्नीले हामीलाइ लक्ष्य गरेर भनिन् । “हो.. हो”- मैले अल्छी मान्दै जवाफ दिएँ । हालमा सुल्पा (चिलिममा स्थानिय सुर्ती भरेर गाँजा जस्तै गरी खाइने धुम्रपानको रुप) लिएकी अर्की अधबैँशे महिलाले खोकेको सुनेर मैले उ तर्फ हेर्दै भनेँ- “सुल्पा तान्दी छ्यौ, अनि खोक्दी पनि छ्यौ मरौली हो मरौली ।” “तिमीकन क्यै था नाइँ यो त ओखती हो ओखती । पेटा किडा माद्दछ । तिमी सुल्पा नखाएर त उकालो चड्डा स्याँ स्याँ गर्छौ हामी सुल्पा खाएर नि खै तल हब गरिहाल्छौँ”-  महिलाले उल्टो जवाफ फर्काइन् । हामी हो हो भन्दै उकालो लाग्यौँ ।
थकाइले त हामीलाइ चुर बनाइसकेकै थियो बिहान बिहानैको हिँडाइले हाम्रो पेटमा मुसा दगुर्न पनि थालिसकेको थियो । “दाइ मलाइ त सारै भोक लाग्यो हो”- मैले डटेन्द्र दाइलाइ यथार्थ बताएँ । “साँच्चै मलाइ नि भोक लागेको छ ।”- दाइले जवाफ दिनुभो । “हिजो बेलुका नि राम्रो सँग खाना खाइएन ।” बिहान साथीहरुले हिँड्ने समयमा कोठामा भएको एक पुरिया बिस्कुट र एउटा चाउचाउ बोकेर जानु त भन्दै थिए । हामी भने बाटोमा होटल पनि छँदैछ के भारी बोकीरहनु भनेर नबोकी हिँडेका थियौँ । अहिले त्यो खानेकुरा पो झलझली आइरहेको थियो । “त्यहाँ माथिको होटल खुलेको होला अलिकती हिँडौन ।”-दाइले प्रस्ताव राख्नुभो । हामी फेरी झोला बोकेर उकालो लाग्यौँ ।
घमाइलो दिन थियो । सबैजना आफ्ना खेतबारी तिर बाली भित्र्याउन व्यस्त देखीन्थै । असोजको महिना चिनु र कागुनो भित्र्याउने महिना हो । धेरै दिनदेखी घाम नलागेकोले किसानहरु दिन खुल्ने बित्तिकै व्यस्त भैहाले । अनि हाम्रो समस्या झन् बल्झियो । बाटोमा भएका होटलहरु सबै बन्द थिए । केटाकेटी र बुढाबुढी बाहेक कोही देखिन्नथे । हामिले सोच्यौँ सबैजना बारीतिर कागुनो टिप्न व्यस्त भएछन् । होटलमा पुगेर खान पाइएला भनेर मख्ख भएको मन अमिलो भयो । भोक झन् एक्कासी बढेर आएजस्तो भयो । नजिकैको पँधेरामा एक बोतल पानी भरेर पिएपछि अलि शितल भयो तर भोक त कहाँ मर्यो र ।
हुनत अलि पर स्याउको बगैँचा बाटैबाट देखिइरहेको थियो । “जाने त ।”-गोले दाइले प्रस्ताब राख्नुभो । “ह्या दाइ! जाँदा आँउँदा धेरै समय लाग्छ फेरी जहाज आउने समय पनि हुन लागीसक्यो । छुटियो भने टेन्सन हुन्छ ।”-मैले असहमती जनाएँ । दाइ पनि त्यसोभए नजाउँ त भन्दै अगाडी बढ्न लागे । त्यतिखेर गमगढीबाट हिँड्ने बेला साथीहरुले बोक्नु भनेको बिस्कुट र चाउचाउ लाइ बारम्बार सम्झिरह्यौँ । बाटामा खेतबारी तिर जाने फाट्टफुट्ट महिलाहरु देखिन्थे । हामी भने डोको बोकेको मान्छे देख्ने बित्तिकै “स्याउ हो?” भनेर सोधिहाल्थ्यौँ । तर दशौँ जनामध्ये कसैले पनि छ भनेर जवाफ दिएनन् । बिचरा बारीमा कागुनो टिप्न हिँडेका हरुसँग के स्याउ हुँदो हो र दिँदा हुन् । बाटोमा कतै कतै तल्तिर मास्तिर लटरम्म फलिरहेको स्याउ पनि देखिन्थ्यो तर न माग्नलाइ कोही मान्छे बरिपरि हुन्थे न त चोर्न जान नै सकिन्थ्यो । मस्त पाकेको स्याउ हेरेर एक घुट्को थुक निल्दै भोको पेटमा पाइला चाल्नुको कुनै विकल्प थिएन । कतै झोलाको कुनाकाप्चा तिर चुइँगम सुइगमा छ कि भनेर पनि हेर्यौ । अहँ कतै केही हात लागेन ।
दुई घण्टाको उकालो काट्न हामीलाइ साँढे तिन घण्टा लागिसकेको थियो र पनि अझै एअरपोर्ट आइपुग्न थोरै हिँड्नु थियो । बस्दै हिँड्दै बस्दै हिँड्दै गरेर हामी बल्ल बल्ल धावनमार्गको फेदी सम्म आइपुग्यौँ । अझै अलिकती उकालो बाँकी नै थियो चढ्नको लागी । “यहाँ कतै पसल होला दिदि ।” आँगनमा ‌ओखर फुटाएर खाँदै गरेकी एकजना महिलालाइ सोध्यौँ । उनले केही नबोली हातको इसाराले देखाइन् । यौटा सानो कुलेसो पारी घुम्तीमा पसल रहेछ । “पसलमा तपाइँ हो । बिस्कुट होला ।”-बाहिरै बसेकी अनुहार चाउरीएर गुजमुज्ज परेकी बुढी महिलालाइ सोध्यौँ । “हो”-उनले भनिन् “छ नि बिस्कुट ।” उनले त्यती भनिनसक्दै हामी पसलभित्र छिरेर दुई पोका कोकोनट बिस्कुट झिकेर सासै नफेरी बुजो हाल्न लागिसकेका थियौँ । “अनि आमै यहाँ भात सात खान पाइँदैन”-डटेन्द्र दाइले सोध्नुभो । “भात त पाइन्या नाइँ, बाबुहरु खान्छौ भने दुबै रोटा छन् कोद्याका, खान्या हौ ।”-बुढी आमैले भनिन् । “खाने खाने खाने किन नखानु”-हामीले त्यो रोटी पनि छुटिहाल्लाकी जस्तो गरी हतारमा भन्यौँ । बुढी आमै एकछिन भान्छातिर लागीन् हामी भने पानीसँग बिस्कुट दन्काउनै व्यस्त रह्यौँ ।
एकैछिनपछी बुढी आमै यौटा हातमा सानो कचौरा र अर्कोमा दुइवटा कोदोको रोटी बोकेर आइपुगिन् । घट्टमा पिधिँएको पिठोको भएर होला रोटि सारै किरीकिरी लाग्ने थियो । तैपनि भोकको झोकमा त्यो हामीलाइ अमृतै भेटिए जस्तो भैरहेको थियो । भन्टाको तरकारी र कोदोको रोटी त्यसबेला जस्तो मिठो मलाई जिन्दगीमा कहिले पनि लागेको थिएन । हामीले चारै गाँसमा त्यो रोटी सिध्यायौँ । हामीलाइ सारै भोक लागेको जस्तो देखेर बुढी आमैले नातिनीलाइ करेसाबारीमा गएर दुइ दाना स्याउ ल्याउन अह्राइन् । “पखाल्नु पर्दैन?”-मैले भनेँ । “हैन यो त भर्खर बोटैबाट टिपेर ल्याएको हो”-नातिनीले जवाफ दिइन् । रातो स्वस्थ स्याउ रुमालले पुछेपछि त झन् गुलावी देखियो । बाहीरै रस चुहीएलाजस्तो रसिलो स्याउ टोक्दा त रस गालाभरी चुहीयो । पहिलोचोटि त्यति ताजा स्याउ खाइएको थियो, बोटबाटै टिपेर । हत्त न पत्त रुमालले रस पुछेर बुढी आमैलाइ कति पैसा भयो भनेर सोध्यौ । “त्यो रोटा र स्याउको के पैसा लिनु बिस्कुटको चाहीँ देउ न ।” हामीले कत्ती कर गर्दा पनि आमैले रोटि र स्याउको पैसा लिन मानिनन् । हामिलाइ भने त्यो बिस्कुट भन्दा रोटि, तरकारी र स्याउको स्वाद जिब्रोमै झुण्डीएको थियो । त्यो अविस्मरणीय भोकको त्यति मिठासपुर्ण अन्त्य होला भनेर हामिले सोचेका पनि थिएनौँ । बुढीआमैलाइ धन्यबाद भनेर हामी फेरी उकालो लाग्यौँ । भोजनभन्दा भन्दा भोक मिठो किन भनेको होला भनेर त्यो दिन पो बुझियो त !!!

No comments:

Post a Comment