Dec 31, 2010

उसको हजुरबुवा

उ मेरो सबैभन्दा मिल्ने साथी । मेरो बाल्यकालदेखी नै उ सधैँ मेरो सँगसँगै छ । एकअर्काको छायाँ जस्तो । उसको हजुरबुवा लाइ मैले आफु थाहा पाउने हुने बेलादेखी नै देखेको थिएँ । हातमा पुरानो बुट्टा कुँदिएको लठ्ठी बोकेर गाउँको तलमाथी गरिरहने बुढा मान्छे ।

घरको मुलढोकाको छेवैमा दाहिनेतिर कुनामा मिलाएर राखिएका एकजोर हात्ती छाप चप्पल र दलिनमा सिउरीएको उही पुरानो लौरो, उसको हजुरबुवाको पहिचान जस्तै थियो । मुलढोकाको छेउको चप्पलको उपस्थिती र अनुपस्थिती ले उसको हजुरबुवा घरमै हुनुहुन्छ कि अन्तै भन्ने जनाउ दिन्थ्यो । हजुरबुवाको चप्पल कहिल्यै यताउता हुँदैन थियो । सधैँ मुलढोकाको दाहिने छेउ । उसको हजुरबुवा काम नपरि अक्सर बाहिर निस्केको मलाइ थाहा छैन । तर साँझमा भने उहाँको सधैँजसो बाहिर निस्कने बानी थियो । माइल्नियार (माइलो नेवार) को पसलमा गएर एक कप चिया नखाइ शायद हजुरबुवाको दिन पुर्ण हुन्नथ्यो क्यार सँधैँ जसो साँझमा हात्ति छाप चप्पल पड्काउँदै हजुरबुवा मेनरोडको माइल्नियारको पसलमा चिया पिएर आउनुहुन्थ्यो । कहिलेकाहीँ उसले पनि हजुरबुवालाइ त्यही पसलमा भेटाएको बखत दुनोट र अैँठे चपाउँदै मलाइ देखाएथ्यो । हजुरबुवाले त्यो पसलमा तास पनि खेलेको उसले देखेको थियो । उसको हजुरबुवा तास खेल्न रसिक र माहिर हुनुहुँदो रहेछ भनेर मैले पनि पछि थाहा पाएको थिएँ । हुनत उसको हजुरबुवाले माइल्नियारको पसलमा एकाधचोटी भेट्दा खानेकुरा खानदिए पनि कहिल्यै घर आउँदा चकलेट सकलेट लिएर आउनुभएको मलाइ उसले थाहा दिएन न त उ नै दुनोट खाने लोभले हजुरबुवाको पछि पछि लाग्यो । तर हजुरबुवा उसलाइ निकै माया गर्नुहुन्थ्यो ।