Skip to main content

सेतो रिबन-२

White_ribbon“….. सुकन्या‍‍‍‍‍‍‌‌‌ को नाम जस्तै उनको रुप पनि छ - सुन्दर र सुकुमार । गहुँगोरो बाटुलो अनुहार, ठुला ठुला गाजलु आँखा र कसिलो जिउडाल भएकी सुकन्या गाउँकी युवकहरुका तारा बनेकी छे । दुर्गम जिल्लामा भएपनि तुलनात्मक रुपमा सम्पन्न परिवारमा जन्मिएकीले लालनपालन पुगेर होला यहाँका अन्य युवतीहरुभन्दा खाइलाग्दी देखिन्छे । हरेक दिन कोरिबाटी गरिवरी आकाशे रंगको सर्ट र निलो फ्रक लाएर मेरै अफिसको बाटो हुदै उ बिद्यालय जान्छे । अक्सर चिसो नै हुने हिमाली जिल्लाको कार्यालयमा हामी बाहिरै घाम तापेर बसेका हुन्छौँ । उसँगै एक हुल केटीहरु बिद्यालय पोशाकमा कार्यालयकै अगाडीबाट हिँड्दा  सबै कर्मचारीहरुको ध्यान उ तिरै  नै तानिने गर्छ किनकी उसको मुस्कानले सबैलाइ आकर्षित गर्छ । तर त्यो सुमधुर मुस्कान भित्र गहिरो बेदना पनि लुकेको छ भनेर कोहि कोही लाइ मात्रै थाहा छ ।’’  एक हुल जँड्याहाहरु देउडा गाउँदै ओरालो लागेको सुनिन्छ । उ सिरकलाइ मुखसम्म तानेर सुत्छ ।
‘’सुकन्याको जन्म कर्णालीको यस्तो दुर्गम गाउँमा भए पनी उसले सदरमुकाम बसेर पढ्न पाइ । शिक्षण पेशा गर्ने उसको बुवाले जागीर गरेर कमाएको सम्पतिले सदरमुकाममा यौटा घर बनाइदिए र उसले पढ्न पाइ । तर सदरमुकामको बसाइले पढाइ सँगसँगै उसको जिन्दगीमा अरु पनि धेरै कुराहरु लिएर आयो । कति राम्रा र कति नराम्रा पनि । उ साँच्चै राम्री थिइ र उसको वरिपरि पर्न जो सुकै युवक पनि लालायीत थिए तर उसको मनमा भने अरुनै कसैको बास परेको थियो । त्यो युवक  जागीरको सिलसिलामा  त्यहाँ पुगेको थियो । प्रहरी जवानको नोकरी गर्थ्यो उ । सुकन्याको जिल्ला भन्दा निकै टाढाको जिल्लाको बासिन्दा थियो । २०-२२ बर्षको लक्का जवान, त्यसमाथि प्रहरीको दैनिक व्यायामले सुगठीत शरिर । त्यो दुर्गम गाउँका युवतीहरुको लागी उ यौटा सपनाको राजकुमार नै थियो । सुकन्याले उसैलाइ मनको राजा बनाइ । सानो परिवेश, सानो संसार र साना सोचाइ भएका गाउँका मानिसहरुको सपना पनि सानै हुन्छ । त्यसैले होला सुकन्याले धेरै सोचबिचार नै नगरी उसलाइ तन मन दिइ । सुकन्याको त्यो त्याग खेर गएन र केही समय पश्चात उनिहरुले भागेर विवाह पनि गरे । उ त्यतिबेला भर्खर ८ कक्षामा पढ्दै थिइ । पढाइ र आफ्ना अनेक इच्छाहरुलाइ पुर्णबिराम लाएर उ नयाँ सपनाको आशामा निस्की ।”
“कर्णालीको दुर्गम गाउँकी सुकन्यालाइ आफ्नो घर बिरानो लाग्नु अस्वाभाविक थिएन । सामाजीक, आर्थिक, सांस्कृतिक र धार्मिक रुपले आकाश पातालको फरक रहेको भिन्न भुगोलमा समाहित हुनु उसको लागी जति असहज थियो सुकन्याको परिवारलाइ पनि त्यो भिन्न परिवेशकी नयाँ सदस्यलाइ स्विकार गर्न त्यतिनै । एक त परिवारसँग सल्लाह नगरी आएकी केटी त्यसमाथी जातीय, सामाजीक र सांस्कृतिक सबै कोणबाट धेरै कोस टाढाकी युवतीलाइ बुहारी स्विकार्न परिवारलाइ सहज भएन । परिवारबाट अपमानका उपहारहरु उसले सधैं नै पाइरही ।’’  ए अलि नघुरी सुत्न सक्दैनस् । उ पल्लो ‌खाटमा सुतेको साथीलाइ गाली गर्छ । साथी सुनेनसुन्यै घुरीरहन्छ ।
‘’समय हो चलिहाल्छ । सुकन्याको श्रीमान केही दिनपछी नोकरीको सिलसिलामा उसलाइ छोडेर जानुपर्ने समय पनि आइपुग्यो । त्यसपछि त त्यो संसारमा सुकन्या झन बिरानो भइ । श्रीमान हिँडेको केही दिनपछि नै परिवारले उसलाइ खासै महत्व दिन छोडेको उसलाइ भान भयो । त्यो विशाल परिवारमा उसलाइ गरिने व्यवहारले सँधै उसलाइ घोचीरहन्थ्यो । मान्छेहरुको त्यो हुलमा उसले कहिल्यै पनि रमाइलो अनुभव गरिन सँधै एक्लो महसुस भइरह्यो उसलाइ ।
समय समयमा श्रीमानको आगमनले त्यो वातावरणलाइ अलि सहज बनाउँथ्यो र उ त्यो कैदबाट मुक्त भएर एक दुइ मुट्ठी खुला हावामा श्वास फेर्न पाउँथी । एक दुइ महिनामा आउने तिनै एक दुइ दिन र रातकै लागी उ अधैर्य भएर प्रतिक्षा गरीरहेकी हुन्थी र त्यो सुमधुर समय उसको श्रीमान फर्केपछि फेरी पुरानै बिरानो समयमा परिवर्तन भैहाल्थ्यो ।
सुकन्यालाइ कहिलेकाहीँ अचम्म लाग्थ्यो कुन अदृश्य तृष्णाले उसलाइ यो समयतिर ल्याइपुर्यायो ? के उसले जिवनका ति बहुमुल्य समय, आफ्नो अध्ययन, त्यो रमाइलो गाउँको संगत यस्तै यौटा अपरिचित जस्तो लाग्ने परिवारको लागी भनेर छोडेकी थिइ ?? समय घर्किसकेको थियो ति कुरामा पश्चाताप गर्नुवाहेक अर्को कुनै बाटो पनि  थिएन ।’’ ‌ ओहो यो कुकुर पनि कस्तो भुकेको हो । उ मनमनै फतफताउँछ । सुत्नै नदेला जस्तो छ आज ।
‘’जसोतसो उसले जिन्दगी चलाइरहेकी थिइ कुनै अदृश्य चामत्कारीक खुसीको आशा गरेर । तर त्यो हुर्कँदै गरेको आशाको मुनामा त्यतिबेला गम्भिर तुषारापात भयो जतिबेला उसको श्रीमानले अर्की युवतीसँग फेरी विवाह गरेको उसले थाहा पाइ । हो उसकी सौता भित्रिने भइ घरमा । त्यसदिन उसलाइ जिन्दगीमा पहिलोचोटि मर्न  मन लाग्यो तर आफ्नो काखमा हुर्कँदै गरेको छोराको मायाले उसलाइ मर्न पनि दिएन । त्यो घरमा बसिरहन उसलाइ मन लागेन र छोरा लिएर उ माइतिघर आइ ।
केही दिन त सुकन्याकी आमाले उसलाइ सम्झाइबुझाइ गरिन् तर उ अघाइसकेकी थिइ त्यो घरदेखी र उसले नफर्कने अठोट दह्रो गरी लिइसकेकी थिइ । उसको जिद्दीको अगाडी कसैको केही लागेन र  उ माइतै बस्न लागी । उसले फेरी आफ्नो छुटेको पढाइ शुरु गरी । माया गरेर सम्झाउनु साटो उसको श्रीमान बेला बेलामा फोन गरेर धम्काउने गर्थ्यो । उसले कहिल्यै सुकन्यालाइ घर फर्किन आग्रह पनि गरेन खाली गाली मात्रै गरिरह्यो । पोइला गैसकेकी छोरी फेरी माइतै फर्कनु समाजको लागी पनी सह्य थिएन सुकन्याले छिमेकी र गाउँलेका अनेक तिता बचनहरु पनि सुन्नुपर्थ्यो । तर उ यो सबै सहिरहेकी थिइ कालकुट बिष पिएझैँ ।
तर आज रातीको घटनाले सुकन्यालाइ झन कस्तो भयो होला । उसको रक्स्याहा बाबु मातिएर अनेक अश्लिल गाली गर्दै घरबाट निस्केर जान भन्दैथियो भनेर साक्षिले उसलाइ सुनाएकी थिइ । त्यो मास्टरकी श्रीमतीसँगै रोएको आवाज सुनेको अर्की युवती त सुकन्या पो रहिछ । अनेक हण्डर खाएर आफ्नो माइतिमा आएर बस्दा पनि सुख पाईँन भन्ने कल्पनाले झन सुकन्यालाइ कस्तो अनुभव भो होला । घरको अपमान सहन नसकेर माइति आएकी सुकन्यालाइ माइती बाट पनि निस्केर जा भनेपछी उसले कहाँ गएर जिन्दगी काट्ली…..’’’
….. बिहानीको चिसो सिरेटो उसको सिरकै छेडेर भित्र पसुँला झै गर्दै थियो । हिमाली कागहरुको धोद्रो का.. का… ले उसलाइ ओछ्यान छोड्न मन नलागी नलागी पनि उठ्नै पर्ने बनायो । आँखा मिच्दै उसले घडीतिर नजर लगायो । ओहो नौ पो बजीसकेछ । उ हतार हतार उठेर मुखभित्र बुरुश घुसारेर तल झर्यो । सुकन्या पिँढीको छेउमा खाँबो समातेर उभिइरहेकी थिइ । उसको आँखामा निराशाको गहिरो बादल प्रष्ट देखिन्थ्यो । उसकै खुट्टा समातेर उसको सानो छोरा पनि उभिइरहेको थियो । अर्को छेउमा मास्टरनी निन्याउरो अनुहार लाएर बसिरहेकी थिइन् । दाउरा लिन जाँदा लडेर खुट्टामा लागेको उनको चोट अझै निको भएको थिएन । जँड्याहा मास्टर भने आँगनमा केटाकेटीहरुलाइ के के अह्राउँदै थियो । मास्टरको अनुहार देखेर उसलाइ घिन लागेर आयो । उ कसैसँग केही नबोली कोठामा उक्लियो र कार्यालय जाने तयारी गर्न लाग्यो । उसको ज्याकेटको देब्रे छेउमा हिजो भर्खर ‘महिला हिँसा बिरुध्दको दिवस’मा बाँडीएको सेतो रिवन फुरफुर हल्लीरहेको थियो । उसले त्यो रिवन निकाल्यो र सँगैको डस्टबिनमा फ्याँकेर अफिसतिर लाग्यो ।

Comments

Popular posts from this blog

भ्रमण भियतनाम #photoblog #vietnam

गएको दशैँको रमझम राम्रोसँग सकिन नपाउँदै एकहप्ते भियतनाम यात्रामा हिँड्नुपर्ने भयो । कार्यालयमा सँगै काम गर्ने कर्मचारीसाथीहरुको एउटा सानोतिनो फुटबल टिम जत्रै समुहसँगको यात्रा बिभिन्न हिसाबले रमाइलो रह्यो । पहिलो गाँसमै ढुंगो भनेझैँ पुर्वी एसियामा आएको समुन्द्री आँधीले भियतनामको राजधानी हनोइको हवाइयात्रा स्थगित भएपछी थप एक रात चिनको ग्वान्झाउ मै बिताउनु पर्ने भो । सामाजीक संजालहरुको सम्बन्धहरुबाट बञ्चित गणतन्त्र चिनको बसाइ एक प्रकारले अत्यासलाग्दो नै भयो । सबै काम जिमेलबाटै मात्र कहाँ गर्न सकिने रछ र आजभोली ।। भोलिपल्ट हनोइमा विमान अवतरण गर्दा अघिल्लो दिनको आँधीको प्रभाव आकाशबाटै देखियो । मुद्रा आतंक यहाँबाट हिँड्दा भियतनामी मुद्राको बारेमा सारै जानकारी थिएन । बिमानस्थलको अराइभलका फास्टफुड पसलहरुको भित्तामा खानेकुराको दाम देख्दा त एकचोटी चित खाइयो । बर्गरको ७०००० अनि कफीको ४०००० भियतनामी दोङ । पछी थाहा भो एक अमेरीकी डलर बराबर झन्डै २१००० दोङ हुँदोरछ । अनि पो सबै चिजहरु हजारौँ पर्ने हुँदारहेछन् । यस्ता ठुला अंकका कारोबार गर्न त नोट पनि ठुलै बनाउनु पर्ने भो । भियतनाम बसाइकै दौरान पाँच ल

गजल

  पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा'थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट । शुभ्र शान्त हिमगिरी बिर्साउँछ मुहार तिम्रो अझै शिरमाथी गुराँस लायौ कहाँबाट ।। जुनतारा शर्माएर बादलुको घुम्टो हाले बिहानीको लाली रुप पायौ कहाँबाट ।।।

गजल

( हुन त आफुले सिर्जना गरेका सबै रचनाहरु माया लाग्दो नै हुन्छन् । तर केही सिर्जनाका सन्दर्भ र प्रसंगका भिन्नताले अरुभन्दा बिशेष बन्छ । स्नातक पढ्दै गर्दा एक जना साथीलाइ परेको अप्रिय घटनाको समवेदनामा सिर्जित यो रचना आज पनि मलाइ बिशेष लाग्छ । र त्यो नमिठो समयले फेरी एकपटक छोएझैँ हुन्छ ।) तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि । दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि । दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । खाटा बस्न लागेको त्यो घाउहरु उप्किएर अझ नुन चुक छर्दा दुखेको छ मलाई पनि ।