Dec 4, 2009

मुगु अनुभव- यात्रा


....सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन ।

...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु ।

एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छु । तिखो कर्कस आवाज सहित जहाज रनवे मा दगुर्न थाल्छ । मेरोभन्दा पछील्लो सिटमा बसेकी महिला आत्तिएर अगाडिको सिटमा घोप्टो परेर टाउको अड्याउँछिन, अर्को सिटको बालक कहालिँदै रुन्छ च्याहाँ... च्याहाँ... ।

बिमान सिधा दक्षिणतिर उडेर फेरी उत्तर फर्किन्छ र स्थिर गतिमा घुइँइँइँइँ गर्दै बढिरहन्छ । तल जमिनका घरहरु साना हुँदै अनी पछाडि सर्दै गरेका देखिन्छन । बिमान सुर्खेत, दैलेख, कालिकोट र जुम्ला जिल्लाका डाँडाहरु छिचोल्दै अघी बढ्छ । ऊ दुल्लु ! ऊ त्यो जुम्ला रोड ! ऊ मान्म ! हो सिँजा ! यस्तै यस्तै आवाजले ३५ मिनेटको यात्राभरी कान गुन्जाइरहन्छ । सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुग्ने कर्णाली राजमार्ग नागबेली परेको धर्को जस्तो देखिन्छ । सरकारी बिद्यालयका टिनका छानाहरु टल्किरहेको देखिन्छ अनी पर पश्चिममा अपी र सैपाल हिमालका चुचुराहरुमा सेता हिउँ मनमोहक देखिन्छ । म जहाजको मैलो र कोरिएको झ्यालबाट ति द्रिश्यहरु क्यामरामा कैद गरिरहन्छु र सोचिरहन्छु यि डाँडाका खोँचका कष्टकर जीवनहरु अझै कति समयसम्म यसै गरी चलिरहने होला ।
बिमान उत्तर लाग्दै जाँदा पहाडहरुको उचाइ बढ्दै जान्छ र बेला बेलामा भईरहने जहाजको असन्तुलन ले मुटु ढक्क हुन्छ । यो यात्रा निकै डरलाग्दो पनी लाग्छ मलाई तर क्याप्टेन र को-पाइलट आफ्नै धुनमा अखवार पढिरहेका छन । बेला बेलामा म एअरहोस्टेस तर्फ हेर्छु किनकी मलाई जहाजमा देखिएको यो असन्तुलन सामान्य हो कि गम्भिर भनी निश्चित हुन मन लाग्छ । यदी गम्भिर हो भने सधैं जहाजमा यात्रा गरेकी एअरहोस्टेस को अनुहार पक्कै आत्तिएको जस्तो देखिएला !
उत्तर लाग्दै गएपछी तल देखिने भिरालो परेका छाना भएका घरहरु हराउँदै र थेप्चो छाना भएका घरहरु देखिँदै आउँछन । पहाडका पनि उत्तरी मोहडा रुखबिरुवाबिनाका तालुखुइले देखिन्छन भने दक्षीणी मोहडा घना जङ्गलले ढाकिएका हरिया । म यो प्रकृतिको कलात्मक सिर्जनाको तस्बिर मेरो क्यामरामा लगातार कैद गरिरहेकै हुन्छु ।

ऊ ! ल घुच्ची आइपुग्यो ! बिमानमा रहेका स्थानियहरुको मुखबाट यही आवाज सुनिँदा बिमान दुइवटा बिशाल पहाडको खोँचबाट गुज्रिरहेको हुन्छ । तल जमिनको घाँसे मैदान नजिकै देखिन्छ । घुच्ची लेक जुम्लाबाट मुगु प्रवेश गर्दाको अन्तिम लेक हो । रारा ताल को दक्षिण तर्फ रहेको यो लेक मुगु र जुम्ला ओहरदोहर गर्ने यात्रुहरुको लागि एउटा ठुलो कहर नै हो । पहाडको उचाइभन्दा पनि तलबाट जहाज उडेको यो अचम्म र डरलाग्दो द्रिश्य क्यामरामा कैद गरिसक्दा नसक्दै देब्रेतर्फ निलो दह बिस्तिर्ण फैलिएको देखिन्छ । ऊ !!! रारा ! सबैको मुखबाट एकैपल्ट निस्कन्छ । नेपालको सबैभन्दा विशाल र गहिरो ताल आकाशबाट गाढा निलो र पहाडहरुबिचको सुन्दर उपत्यका जस्तो देखिन्छ । यो द्रिश्यले म एकदमै रोमान्चक अनुभव गर्छु ।
पहाडलाई खारेर पुर्बी मोहडामा उत्तर दक्षिण लम्बाइमा रहेको रारा बिमानस्थल (ताल्चा) पर देखिन्छ । जहाजका चालकहरु ककपिटमा सक्रिय हुन्छन अझ अगाडि पुर्व पश्चिम फैलिएको गमगढी बजार देखिन्छ । गमगढीलाइ ठीक मुनी पारेर बिमान एक चक्कर लगाइ दक्षिण तर्फ मोडिन्छ र बिमानस्थल को धावनमार्ग तर्फ लक्ष्य गर्छ । एकदमै नजिकै रहेका पहाडसँग मलाई साह्रै डर लाग्छ । म दह्रो गरी अगाडिको सिटमा समात्छु र आँखा चिम्लन्छु । कच्ची धावनमार्गमा ठुलो आवाजका साथ घ्याररर गर्दै बिमान रोकिन्छ । म लामो सास फेरेर सिटको पेटी खोल्दै आफ्नो झोला मिलाउन लाग्छु । एउटा यात्रुको ओर्लने समयमा कुखुराको अण्डा खस्छ । फुटेको अण्डा देखेर एअरहोस्टेस रिसाउँदै त्यसलाई सफा गर्न लाग्छे । म चाँही के के सोचिरहन्छु ।।।। क्रमश:....

3 comments:

  1. Good one.... Need more like this

    ReplyDelete
  2. Mero humli yatra ko jibantata payen... Thanks 4 that... Aphai yatra gareko anubhuti bhayo... Jaya nepal.. Jaya prithibi...

    ReplyDelete