बितेका एक दूइ हप्ता अझ भनौँ बितेको महिनाभरीनै कर्णाली चर्चाको कुनै न कुनै उचाइमा रह्यो । विकास सुचकांकको हिसाबले अझै पनि नेपालको पुछारमा रहेको अञ्चल चर्चामा रहनुमा भिन्न भिन्न घटनाहरु कारण भैरहे । डिसेम्बरको दोस्रो हप्ता तिर ‘हिमालयन भियाग्रा’को नामले चिनिने यार्सागुम्बासम्बन्धी एरिक भ्यालीको डकुमेन्ट्रीले डोल्पा र कर्णालीको चर्चालाइ यती धेरै उठायो कि अन्तिम दिनको किम्फको त्यो प्रदर्शनीले झण्डै झण्डै सभागृहनै उचालेको थियो । दर्शकहरुले झण्डै मुलद्वार नै भाँचेका थिए सिटीहलको ।
‘हिमालयन गोल्ड रस’को त्यो चर्चा सेलाउन नपाउँदै मुगुको सदरमुकाममा मोटरबाटो पुगेको तामझामयुक्त खबरले कर्णालीलाइ लगभग चर्चाको शिखरमै पुर्यायो । भएभरका नेपाली समाचार च्यानलहरुले घण्टा फेरीफेरी र बिषय फेरीफेरी त्यसलाइ प्रस्तुत गरिरहे । कसैले त गमगढी काठमाण्डौ रात्री बसै चलेको झैँ गरि नै समाचार फ्याँके । यौटा सामान्य घटना भएपनि सदरमुकाममा मोटरबाटो पुर्याउन अन्तिमबाट तेश्रो भएको उपलक्ष्यमा मुगु गमगढीले कर्णालीको चर्चालाइ केही हप्तासम्म धानिरह्यो ।
चर्चा अझै सेलाएको छैन कर्णालीको । शहरका अलि बुझेका अनि ट्वीटर र फेसबुकका भित्ताहरु चहार्न भ्याउने केही युवा युवतीहरुको मुखमा फेरी नयाँ चर्चाको बयान कर्णालीको आजभोली । शहरमा चर्चा छ सुनकेशरीको ….
चर्चा सुनकेशरीको…
हनुमानथान देखी अनामनगर जाँदै गर्दा सिँहदरबारको पुर्वी ढोका पुग्नुभन्दा दुइचार पाइला अघिनै यौटा नाटकघर बनेको छ भर्खरै – ‘मण्डला थियटर’ । केही समय अघि गुरुकुलले अन्तराष्ट्रिय नाटक महोत्सव गर्दै सो नाटकघरको ग्राण्ड ओपनिङ गरेकोले नाटकमा चासो राख्ने धेरैले त्यो बारे सुनेका देखेका छन् । हो त्यही नाटकघरबाट प्रत्येक दिन साँझको छ बजेतिर निस्कने एक हुल मान्छेहरुले (आजसम्म धेरै हुल निस्किसके त्यहाँबाट) कर्णालीको चर्चा धानिरहेका छन् यतिखेर । रंगमञ्चमा सारै रमाउनेहरुको लागी दूइ चार दिन र सामान्य दर्शकका लागी भोलिपल्टसम्म पनि कर्णालीको त्यो कथाले स्ट्राइक गरिरहन्छ र त हरेक दिन कुनै न कुनै ब्रोडसिटका पन्नाहरुमा फरक हिसाबले टाँसिएको हुन्छ त्यो कर्नालीको चर्चा । र चर्चाको केन्द्रमा छिन् सुवर्ण केश भएकी सुन्दरी ‘सुनकेशरी’ ।
सुनकेशरी कर्णाली प्रदेशको आधा सहस्राब्दी पहिलेतिरको कथा हो । जतिखेर साना साना भुरेटाकुरे राज्यहरु बिध्यमान थिए त्यो क्षेत्रमा शायद नेपाल भरिनै । सुनकेशरी जुम्लाको सामान्य ठकुरी परिवारकी सारै सुन्दर छोरी हुन् । उनको सुनौलो केशलाइ आधार बनाएर उनलाइ सबैले सुनकेशरी नाम जुराइदिए । गाउन र नाच्नमा पारंगत सुनकेशरीको सुन्दरतालाइ सबैले आँखा लगाउँछन् । यौटा भेलामा संयोगले भेट भएपछी वरपर राज्यका राजाहरुले पनि उनलाइ आँखा लगाए र बिवाह र नाचगानका प्रस्तावहरु त्याए । ठकुरीहरुको वंश मर्यादा विपरित (जसमा मामाचेला फुपुचेलामा हक लाग्छ) उनी रास्कोटी राजा बिक्रम सिँहकी रानी बनेपछी सबै गोलमालको शुरुवात हुन्छ । उनकी फुपुको छोरा प्रजापती बहुलाहा जस्तो हुन्छ भने भाइ भाइ छिमेकी राजाहरुको सम्बन्ध बिच्छेद हुन्छ । अझै राजाको शिकार भ्रमणका बेला भोटका अर्का राजाले राज्यमा हमला गरी सुनकेशरीलाइ अपहरण गरि लगेपछी त सुनकेशरीलाइ आफ्नो सुन्दरता अभिषाप भएकोमा पश्चाताप लाग्छ र भगवानसँग कुरुप हुने कामना गर्छिन् । उता आफ्नी रानी फर्काउन बिक्रम सिँहले भोटका राजासँग निकै तयारीसाथ युद्धगरि बिजय प्राप्त गर्छन् । तर त्यतिबेलासम्म सुनकेशरी कुरुप भैसकेकी हुन्छिन् । राजालाइ त्यस्तो कुरुप स्त्रीको लागी युद्ध गर्नुपरेकोमा थकथक हुन्छ र सुनकेशरीलाइ आइन्दा रानी बन्न नसक्ने घोषणा गर्छन् । अनि प्रजापतिको आग्रहलाइ पनि वेवास्ता गर्दै सुनकेशरी बिदा हुन्छिन् ।
कथा यत्ती हो । फरक पात्र र परिवेशमा धेरैले यस्ता कथाहरु पढेका छौँ, सुनेका छौँ । तर कथा भन्दा पनि त्यसको नाटकीय प्रस्तुती ताजुव लाग्दो छ । रुपै मात्रको लागी पनि राजा भनाउँदाहरु कसरी युद्ध सम्म गर्न तयार हुन्छन् भनेर बडो गजवसँग प्रस्तुत गरीएको छ । प्रजापतिले सुनकेशरीलाइ भोटका राजाको दरबारबाट छुटाउन लगाएको रचनात्मक उपाय दर्शकलाइ मनपर्दो छ । खस लवजमा बोल्ने सुत्रधारको बोली पिच्छे हाँसोको पर्रा छुट्छ । सुनकेशरीको पारिवारीक बार्तालाप र सांकेतिक रुपमा चराको प्रयोग पनि नेपाली नाटकको नवीनतम प्रयोग हो । कलाकारहरुको अभिनयमा कतै खोट देखिन्न । अनुहारको भाव पढेर समेत दर्शकहरु प्रतिकृया व्यक्त गर्छन् दर्शकदिर्घाबाट । समय समयमा कठोर शब्दका राजाका आदेशहरुले दर्शकको मुटु चिसो बनाउँछ । कर्णालीका संस्कृतीका झलकहरु दर्शकलाइ अनौठो लाग्छन् । अनि हुड्केको जुम्ली भाषालाइ बल गरेर बुझ्ने कोशिश गर्छन् दर्शकहरु र वियोगान्त अन्त लिएर निस्कन्छन् अनि धान्छन् थियटर बाहीर कर्नालीको चर्चालाइ ।
नेपाली रंगमञ्च र कर्णालीको साइनो बडो गजबको देखिन्छ । गुरुकुलले पैसा तिरेर नाटक हेर्ने व्यवस्था शुरु गरेपछि कर्नालीका कथा धेरै नाटकमा आइसक्यो । गुरुकुलकै पहलमा मुगुमा समेत नाट्यसमुह खोलेर नाटक खेल्न प्रोत्साहन गर्यो कर्णालीलाइ । मलाइ थाहा भएअनुसार अहिलेसम्म कर्णालीलाइ केन्द्र बनाएर तिन नाटक मञ्चन गरिए जसमा यो सुनकेशरी पनि पर्छ । कर्णालिको दुख दर्द देखाउन सुनिल पोखरेल ले मुगुका कलाकारहरुसँग ‘कर्नाली दख्खीन बग्दो छ’ बनाए । जसले तत्कालीन समयमा खुबै चर्चा पायो । फेरी कर्णालीका सपनाहरुलाइ आँशु रचनामा आधारीत अलि हलुका नाटक ‘सुइना कर्नालीका’ (सपना कर्णालीका) बाट देखाए । र अहिले सत्यमोहन जोशीको कथामा आधारीत सुनकेशरी मञ्चन हुँदै छ ।
यौटा दर्शकको नाताले भन्नुपरदा यो निकै उच्च स्तरको नाटक हो । भारत र बंगलादेशमा समेत वाहवाही पाएको यो नाटकले नाटक प्रस्तुतीको फरक तरिकाको प्रतिपादन गरेको छ । सधैँ पात्रहरुलाइ नै उभ्याएर देखाइने नाटकलाइ कथाबाचनको शैलीमा नमुना पात्रहरु बनाएर प्रस्तुत गरिएको सुनकेशरी प्रस्तुतीका हिसावले पनि नवीनतम छ । यो एउटा नाटकभित्रको नाटक अनुभुत हुन्छ हेरिरहँदा ।
हेरिसक्नु भएको भए त ठिक छ । नहेर्नुहुनेहरुलाइ भनिहालुँ नेपाली नाटक मञ्चनको क्षेत्रमा यो यौटा छुटाउनै नहुने नाटक हो । मण्डला थियटर जानुहोस् र अरु केही दिनसम्म धान्नुहोस् चर्चा कर्नालीका । जहौ !!!!!
तस्वीर साभार: मण्डला थियटर
Comments
Post a Comment