उ मेरो सबैभन्दा मिल्ने साथी । मेरो बाल्यकालदेखी नै उ सधैँ मेरो सँगसँगै छ । एकअर्काको छायाँ जस्तो । उसको हजुरबुवा लाइ मैले आफु थाहा पाउने हुने बेलादेखी नै देखेको थिएँ । हातमा पुरानो बुट्टा कुँदिएको लठ्ठी बोकेर गाउँको तलमाथी गरिरहने बुढा मान्छे ।
घरको मुलढोकाको छेवैमा दाहिनेतिर कुनामा मिलाएर राखिएका एकजोर हात्ती छाप चप्पल र दलिनमा सिउरीएको उही पुरानो लौरो, उसको हजुरबुवाको पहिचान जस्तै थियो । मुलढोकाको छेउको चप्पलको उपस्थिती र अनुपस्थिती ले उसको हजुरबुवा घरमै हुनुहुन्छ कि अन्तै भन्ने जनाउ दिन्थ्यो । हजुरबुवाको चप्पल कहिल्यै यताउता हुँदैन थियो । सधैँ मुलढोकाको दाहिने छेउ । उसको हजुरबुवा काम नपरि अक्सर बाहिर निस्केको मलाइ थाहा छैन । तर साँझमा भने उहाँको सधैँजसो बाहिर निस्कने बानी थियो । माइल्नियार (माइलो नेवार) को पसलमा गएर एक कप चिया नखाइ शायद हजुरबुवाको दिन पुर्ण हुन्नथ्यो क्यार सँधैँ जसो साँझमा हात्ति छाप चप्पल पड्काउँदै हजुरबुवा मेनरोडको माइल्नियारको पसलमा चिया पिएर आउनुहुन्थ्यो । कहिलेकाहीँ उसले पनि हजुरबुवालाइ त्यही पसलमा भेटाएको बखत दुनोट र अैँठे चपाउँदै मलाइ देखाएथ्यो । हजुरबुवाले त्यो पसलमा तास पनि खेलेको उसले देखेको थियो । उसको हजुरबुवा तास खेल्न रसिक र माहिर हुनुहुँदो रहेछ भनेर मैले पनि पछि थाहा पाएको थिएँ । हुनत उसको हजुरबुवाले माइल्नियारको पसलमा एकाधचोटी भेट्दा खानेकुरा खानदिए पनि कहिल्यै घर आउँदा चकलेट सकलेट लिएर आउनुभएको मलाइ उसले थाहा दिएन न त उ नै दुनोट खाने लोभले हजुरबुवाको पछि पछि लाग्यो । तर हजुरबुवा उसलाइ निकै माया गर्नुहुन्थ्यो ।
गाउँमा पण्डीत्याँइँ पनि गर्ने उसको हजुरबुवा शिक्षित हुनुहुन्थ्यो । त्यसैले जान्ने बाहुन भनेर सबैले तिथि श्राद्धमा बोलाउने गर्थे तर हजुरबुवा निश्चित व्यक्तिहरुकोमा मात्रै गएको मैले देखेको थिएँ । उ पनि पढ्न सिपालु थियो । झन् हजुरबुवा नातीलाइ अनेक अनेक तरिकाले पढाउन माहिर । उसको घरका ध्वाँसोले कालो पारेका दलिनभरि साउँ अक्षर र बाह्रखरीका अक्षर भरिभराउ हुन्थे । हुँदा हुँदा दलानमा राखेको खाटका खुट्टामा समेत हजुरबुवाले काका मामा लेख्न भ्याउनुभएको थियो । शायद पढ्न शुरु गर्ने उमेरमा जतिखेर पनि अक्षरको सँगत भैराखोस् भनेर त्यसो गर्नुभएको हुँदो हो । हजुरबुवाको पढाउने शैली पनि गज्जब थियो । म प्राय उसँगै पढ्न जाने हुँदा उसलाइ पढाएको मैले धेरै नजिकबाट देखेको थिएँ । उहाँको पढाउने शैली कति रचनात्मक थियो भने झुटोबोलिरहने कालुको कथा पनि उहाँ ३ दिन लगाएर पढाउनु हुन्थ्यो र भन्नु हुन्थ्यो “हेर नाती! अब भोली कालुलाइ खान बाघ आउँछ” । उ र म भने बाघ कसरी आउँछ होला भनेर भोलिपल्ट हजुरबुवासँग पढ्न निकै हतारिएका हुन्थ्यौँ । किताबका पाठहरु हजुरबुवा सँग बसेर पढ्दा त साँच्चै भैरहेको छ कि जस्तै हुन्थ्यो । यसरी उसका र मेरा अक्षरारम्भका दिनहरु शुरु भएक थिए । शिक्षित हजुरबुवाले मन दिएर पढाएकाले होला उ पनि पढ्नमा नामी भएर निस्कियो ।
४ बर्षको उमेरदेखी नै उ साउँ र जोडीएका अक्षर फुटाउन सक्ने भैसकेको थियो । हजुरबुवा उसलाइ खुब माया गरेर पढाउनु हुन्थ्यो । जब माघ महिनामा स्वस्थानीको कथा पढ्नुपर्ने हुन्थ्यो, हजुरबुवा छोटो छोटो अध्याय छानेर उसलाइ भन्न लगाउनु हुन्थ्यो । उ पनि खरर स्वस्थानी वाचन गर्न सक्ने भैसकेको थियो, पाँच बर्ष लाग्दा नलाग्दै । हजुरबुवाले ‘यम् ब्रम्हा…’ र ‘उपनयतु मंगलम् व…’ जस्ता स्वस्थानीका श्लोकहरु कण्ठस्त भनेको देखेर उसलाइ पनि कण्ठ गर्ने रहर चढ्थ्यो । हेरेर त उ श्लोक पनि भन्न सक्थ्यो । तर कण्ठस्थ गर्नलाइ उसलाइ अलि मेहनत गर्नु पर्ने भो । एक दुइ हरफ त उसलाइ मुखाग्र भैसकेको थियो र जहाँबाट उसलाइ अफ्ठ्यारो पर्थ्यो उ दिउँसै सुटुक्क पुजाकोठाभित्र कपडाले बेरीराखेको स्वस्थानीको किताब पल्टाएर दुइलाइन पढ्थ्यो र किताब जस्ताको तस्तै राखेर खेल्दै कण्ठ गर्ने कोशिस गर्थ्यो । यसरी लगभग हप्तादिन भित्रै उसले स्वस्थानीको शुरुको र अन्त्यको स्तुतिका श्लोकहरु कण्ठ पारिछाड्यो । पछि पछि त उ पुरै कथा आफैँ भनेर सुनाउँथ्यो ।
स्वस्थानी कथा पनि पढ्न जान्ने भैसक्यो नाती भनेर उसको हजुरबुवाले हाम्रो गाउँको निम्न माध्यमिक बिधालयमा उसलाइ भर्ना गर्न लैजानुभो । तर अफसोच स्कुलका हेडसरले “पछी एसएलसी दिँदा उमेर पुग्दैन, यति सानो बच्चालाइ कहाँ भर्ना गर्ने, ६ बर्ष पुगेपछी भर्ना गर्नुहोला ।“ भनेर हजुरबुवालाइ फर्काइदिएछन् । उसले स्कुल जान अर्को एक बर्ष कुर्नुपर्यो ।
डेस्कबेञ्च पर्याप्त नभएको कोठामा भुइँमै बसेर पढ्नुपर्थ्यो । हाम्रो कक्षामा उ नै मेधावी थियो । उसले १ २ कक्षामा पढ्ने कुरा त घरमै हुँदै भ्याइसकेको थियो । सर म्याडमहरुले नि हजुरबुवालाइ चिनेर हो कि पढ्न जान्ने भएर हो उसलाइ निकै माया गर्नुहुन्थ्यो । दिनहरु बित्दैजाँदा कक्षा १ को परिक्षाको पनि रिजल्ट आउने दिन आयो । हजुरबुवा पनि स्कुल व्यवस्थापनको सदस्य भएको नाताले हो अथवा उसको रिजल्ट हुने दिन भएकोले हो स्कुल आउनुभएको थियो । हुँदाहुँदै एकजना सर बेञ्चमाथी उभिएर नतिजा सुनाउन लागे । नतिजा कक्षा १ बाटै शुरु भयो । पासहुने सबैजनाको नाम भनिसक्दा पनि उसको नाम नआएकोले उ निराश भैसकेको थियो । सरले अन्तिममा उसको नाम सुनाउनु भयो - “हुंकार न्याय ढुंगाना” । उसले आफ्नो नाममात्रै सुन्यो त्यो पनि अन्तिममा । जिन्दगीको पहिलो नतिजा र उमेरमा पनि सानै भएको हुनाले उसले नतिजा सुनाएको अर्थ बुझेन । उसले यत्ति बुझ्यो आफ्नो नाम अन्तिममा आएकोले म पक्कै फेल भएको हुँला । उ मसँगै सुँक्क सुँक्क गर्दै मध्यान्हतिर घर पुग्यो । घर पुगेपछि अरुले सोधे ‘के भइस् त?’ उ झन् रुन थाल्यो । “फेल भएँ” । हजुरबुवा बेतोडले हाँस्नुभयो । “धत् मोरा! काँ फेल हुनु, तँ त फस्ट भइस् ।” उसलाइ के भयो कुन्नी रुँदारुँदै उ हाँस्न लाग्यो । आजभोली पनि म यो घटनालाइ बेलाबेलामा सम्झाइदिन्छु । उ अचम्म मानेर हाँस्छ ।
प्राकृतिक रुपमा हुने बालसुलभ चञ्चलता, उत्ताउलोपन र बदमासी उसमा पनि थियो । बर्षायामतिर कहिले उ छाताको तारको सुइरो बनाएर भ्यागुता मार्दै हिँडेको भेटिन्थ्यो भने कहिले भलको पानीमा पौडी खेल्दै । प्राय जसो बिदाको दिन गोठालाहरुसँग फाँटतिर गएर कालीमाटीको मोटर बनाउनु पनि उसको शोखको बिषय थियो । कहिलेकाहीँ यस्तै बदमासि गर्दैगर्दा उसको बुवाले भेट्टाएभने दूइचार भकुराइ पनि खाइहाल्थ्यो । मुलखाँबोमा कत्ति चोटी उसलाइ बाँधीएको पनि मैले आफ्नै आँखाले देखेको छु । हजुरबुवा त्यो सबै हेरिरहनुहुन्थ्यो र उसको बुवा कतै बाहिर निस्केपछि “दानबद्दो बलिराजा…” (रक्षाबन्धन बाँध्दा भनिने मन्त्र) भन्दै हाँस्दै बाँधेको डोरी खोलीदिनुहुन्थ्यो । हिउँदमा भने फाँटतिरबाट परालकाभारी बोकेर ल्याउँदा बाटोमा छरिएका पराल सँगालेर आगो ताप्नु उसको दिनचर्या हुन्थ्यो । कहिलेकाहीँ हजुरबुवाले पनि सघाउनुहुन्थ्यो उसलाइ । चिसोमा कठ्याँग्रिएका चरालाइ ढुँगा हानेर कहिलेकाहीँ उ तर्साउने गर्थ्यो ।
स्कुल जाँदा प्राय उसको कलम हराइरहन्थ्यो । त्यसको बदलामा सधैँ घर आएपछी बुवाको गाली खान्थ्यो र कहिलेकाहीँ झापड पनि । नातीको यस्तो मजबुरी देखेर एकपल्ट हजुरबुवाले कलम धागोमा बाँधेर माला बनाइदिनुभयो । दुइचार दिन कलम हराउन छाडे तर पछि खै कसरी हो माला लगाएको कलम पनि उसले हराएर आयो । त्यो दिन त हजुरबुवाले पनि गाली गरेको मलाइ याद छ ।
उ कक्षामा अक्सर प्रथम नै हुन्थ्यो र बर्षैसाल केही न केही पुरस्कार ल्याएर हजुरबुवालाइ देखाउँथ्यो । हजुरबुवा शायद खुसी हुनुहुन्थ्यो होला तर उसको उमेर मान्छेको अनुहारमा पोतिएको खुशी र दुख छुट्याउन सक्ने भैसकेको थिएन ।
प्राथमिक स्कुल सकाएपछी उ पढाइकोलागी प्राय घर बाहिर नै रहन लाग्यो । उसको र हजुरबुवाको भेट त्यसपछि पातलिँदै गयो । घरमा प्राय सदस्यको शिक्षक बनेको पृष्ठभुमी भएर होला हजुरबुवा उसलाइ पनि शिक्षक बन्न हौस्याउनु हुन्थ्यो, भेटेको बेला । उ पनि हस् भनेर टाउको त हल्लाउँथ्यो । तर उसले फरेस्ट्री कलेज भर्ना भएपछि हजुरबुवालाइ कस्तो कस्तो लागेको थियो । उ कलेज बिदा भएको समय पारेर हजुरबुवालाइ भेट्न गइरहन्थयो हजुरबुवाको मनपर्ने गोल्डफ्लेक चुरोटको थुप्रै बट्टा बोकेर । उ धुमपान गर्न हौस्याउने मान्छे त थिएन तर पटक पटक सम्झाउँदा पनि नमाने पछी उ हजुरबुवाकै इच्छामा मलजल गर्न लाग्यो । फरेस्ट्री पढेपनि उहाँले पढाउने काम नै शुरु गर्न धेरै पटक हौसला दिनुभयो । तर स्नातक सकाएर जागीर शुरुगरेपछी हजुरबुवालाइ उ अब पढाउने मान्छे बन्दैन भन्ने पक्का भएर होला हजुरबुवाले जागीर खाएपनि भ्रष्ट चाहीँ नबन्न सम्झाएको मैले पनि सुनेको थिएँ । परिवारकै एकजना सदस्यको उदाहरण दिएर पैसा कमाउनलाइ इज्जत नफाल्न उहाँले उसलाइ सम्झाउनु भएको थियो । हुनत उ त्यस्तो गर्न सक्ने प्रकृतिको मान्छे नै होइन मलाइ राम्रोसँग थाहा छ ।
आज उसँग लगभग उसको उमेरमा हुनुपर्ने सबैथोक छ । राम्रो अंक भएको प्रमाणपत्र छ, अधिकृत स्तरको सरकारी जागीर छ, बिदेश पढ्न जानकोलागी छात्रबृत्ति को धेरै सम्भावनाहरु छन् र यौटा खुसी जिन्दगी छ । छैनल केवल त्यो जिवन असल बनाउन हरपल प्रेरणा दिइरहने उसको हजुरबुवाको भौतिक साथ । उ बेलाबेलामा मसँग हजुरबुवाकै प्रेरणाको कुरा गरिरहन्छ । उसले पाएको यो प्रतिभा र असल बानीहरुलाइ उ सँधै हजुरबुवाको असल सँस्कारको उपज भनेर मलाइ सुनाउँछ । मलाइ पनि त्यस्तै लाग्छ । गत साल पुसमा उ मुगुमै जागीरे हुँदा उसले हजुरबुवा स्वर्गीय हुनुभएको खबर पाएको थियो । यो महिना उसको हजुरबुवा स्वर्गवास भएको १ बर्ष भयो । उहाँको देहावसानको बार्षिक पुण्यतिथीमा म पनि हजुरबुवाको स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछु । र हजुरबुवाको स्मृतिले उसलाइ अझ विबेकशिल र विनयी हुन प्रेरणा प्राप्त भैरहोस् । मेरो कामना ।।।
िमलन जी, कथा वा अात्म वृतान्त के भनाै राम्ाे छ। लेखन शैली प्रशंशायाेग्य छ र सुधारकाे सम्भावना पनी केही देख्छु । हुंकारलाइ वािक िजन्दिगकाे लािग शुभकामना !!!
ReplyDeletereally nice and appreciatable. it makes me crying n really missing my grandpa...
ReplyDelete