“….. सुकन्या को नाम जस्तै उनको रुप पनि छ - सुन्दर र सुकुमार । गहुँगोरो बाटुलो अनुहार, ठुला ठुला गाजलु आँखा र कसिलो जिउडाल भएकी सुकन्या गाउँकी युवकहरुका तारा बनेकी छे । दुर्गम जिल्लामा भएपनि तुलनात्मक रुपमा सम्पन्न परिवारमा जन्मिएकीले लालनपालन पुगेर होला यहाँका अन्य युवतीहरुभन्दा खाइलाग्दी देखिन्छे । हरेक दिन कोरिबाटी गरिवरी आकाशे रंगको सर्ट र निलो फ्रक लाएर मेरै अफिसको बाटो हुदै उ बिद्यालय जान्छे । अक्सर चिसो नै हुने हिमाली जिल्लाको कार्यालयमा हामी बाहिरै घाम तापेर बसेका हुन्छौँ । उसँगै एक हुल केटीहरु बिद्यालय पोशाकमा कार्यालयकै अगाडीबाट हिँड्दा सबै कर्मचारीहरुको ध्यान उ तिरै नै तानिने गर्छ किनकी उसको मुस्कानले सबैलाइ आकर्षित गर्छ । तर त्यो सुमधुर मुस्कान भित्र गहिरो बेदना पनि लुकेको छ भनेर कोहि कोही लाइ मात्रै थाहा छ ।’’ एक हुल जँड्याहाहरु देउडा गाउँदै ओरालो लागेको सुनिन्छ । उ सिरकलाइ मुखसम्म तानेर सुत्छ । ‘’सुकन्याको जन्म कर्णालीको यस्तो दुर्गम गाउँमा भए पनी उसले सदरमुकाम बसेर पढ्न पाइ । शिक्षण पेशा गर्ने उसको बुवाले जागीर गरेर कमाएको सम्पतिले सदरमुकाममा य...